नेपाल फाइनान्सले जेठ ६ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्ने

नेपाल फाइनान्सले जेठ ६ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल फाइनान्स लिमिटेडले आगामी जेठ ६ गते मंगलबारदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता सेयर (१ बराबर ०.७०) अनुपात ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद जारी गर्न फाइनान्सले बैशाख २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेको छ । बुकक्लोज अनुसार बैशाख २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

हकप्रदमा मेरोसेयरको मोबाइल एप सफ्टवेयर, वेवसाइट तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका अलवा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट पनि जेठ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी आईआर सी प्लस रेटिङ्ग' प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

फाइनान्सको २८ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । विसं २०७७ कार्तिक १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न अनुमति पाएको थियो ।

फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेपछि चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ । ललितपुर फाइनान्सलाई प्राप्ति पछि हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ छ ।