बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि विक्री खुला गरेको ऋणपत्र विक्रीको मिति ढिलो अवधिसम्म लम्ब्याईएको छ । बैंकले छिटो अवधि वैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएकाले ढिलो अवधि जेठ ४ गतेसम्म विक्री खुला गर्ने जानकारी दिएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र विक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरिनेछ ।
इच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिन्छ ।
प्रतिक्रिया