मिथिला लघुवित्तको नाफा १.७५% ले घट्यो

मिथिला लघुवित्तको नाफा १.७५% ले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ७५ प्रतिशत घटेको छ । 

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ५ करोड ११ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २ लाखमा सीमित भएको छ ।

कम्पनीको सञ्चालन मुनाफा पनि ३ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ६ करोड ४२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ६ करोड ६७ लाख रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा १२ दशमलव २७ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ दशमलव ३९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ८२ प्रतिशत बढेको छ । 

कम्पनीको खराब कर्जा ३ दशमलव ४९ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी ४९ दशमलव १७, मूल्य आम्दानी अनुपात ३० दशमलव ५१ गुणा छ भने प्रतिशेयर नेटवर्थ २०८ दशमलव ५१ छ । 

हाल कम्पनीको चुक्तापूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी १२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १२ करोड १७ लाख रुपैयाँ थियो ।