बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएपनि कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १०.६७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३६ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ५५ लाख रुपैयाँ धनात्मक भएको छ । यद्यपि, समीक्षा अवधिमा ५६ लाख १४ हजार रुपैयाँ मात्र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ६१ पैसा घटेर ३३ रुपैयाँ ५१ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.३१ प्रतिशत बढेको छ भने जगेडा कोष ७४.६६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३.५७ प्रतिशत, निक्षेप २१.०५ प्रतिशत र कर्जा १९.९७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया