बीमा कम्पनीहरुले हकप्रद बिनै एक वर्षभित्र पूँजीवृद्धि गर्नैपर्छ: अध्यक्ष सिलवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले हकप्रद बिनै पूँजी बढाउन जीवन बीमा कम्पनीहरूलाइ समितिको निर्देशन दिएको छ । बुधबार (हिजो) काठमाडौंमा भएको बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हकप्रद बीनै पूँजी बढाउन निर्देशन दिएका हुन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै  कम्पनीहरूले एक वर्षभित्र पूँजी बृद्धि गर्नै पर्ने बताए ।

लगानी अनुरूको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पूँजी बृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उनले बताए । “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुपर्यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्यो । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ”, उनले भने । 

पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दे अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो । सूचना प्रविधिमैत्री हुनुपर्यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो  । दाबी भुक्तानी समयमै हुनुपर्यो । लगानीको प्रतिफल पनि बढ्नु पर्यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनी बीमकको पूँजी बृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।