बैंकिङ्ग समाचार, काठमाडौं ।
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए । बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव संहालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।
त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंकमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसकेका छन् । सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् ।
इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ।’
प्रतिक्रिया