चालु आर्थिक वर्षमा ब्याजदर अझै बढ्नेछ: गभर्नर

चालु आर्थिक वर्षमा ब्याजदर अझै बढ्नेछ: गभर्नर


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो केहि महिना कर्जाको बृद्धिदर उच्च भए पनि अहिले कर्जा लगानी कम हुँदा यस वर्ष मौद्रिक नीतिमा उल्लेख भए भन्दा पनि कम बृद्धि हुने राष्ट्र बैंकका गभर्नरले बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा कर्जाको बृद्धिदर १९ प्रतिशतभन्दा कम हुने बताए ।

"यस वर्ष १९ प्रतिशत पनि कर्जाको बृद्धिदर पुग्दैन ।" उनले भने "१९ प्रतिशत पुग्न अब २ खर्ब कर्जा लगानी हुनुपर्छ त्यो अहिलेको अवस्थामा सम्भव छैन ।"

तरलताको असरले ब्याजदर भने बढेको उनले बताए । उनका अनुसार अहिलेको परिस्थितिले ब्याजदर कोभिड अघिको भन्दा पनि माथि जान सक्ने छ । अवस्था सहज नभए पोलिसि रेट अझै बढाउने संकेत उनले गरेका छन् । राष्ट्रै बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षमा पनि यस्तो दर बढाएको थियो । "ब्याजदर अझै बढ्नसक्छ । त्यसको लागि सबै तयार रहनुपर्छ ।" उनले भने ।

अहिले विश्वभरी नै मूल्यबृद्धि देखिएको छ । आयात गरिने सामानको मूल्य बढेको कारणले पनि समस्या भएको उनले बताए । वार्षिक मूल्यबृद्धि साढे ६ देखि ७ प्रतिशतकै हाराहारीमा बस्ने उनले बताए ।

आयात र निर्यातमा ठुलो ग्याप मेन्टेन गर्न समस्या रहेको अधिकारीले बताए । "यो आजको मात्रै होइन भोलिको पनि समस्या हो ।" उनले भने "हामीले निर्यात बढाउने बेस बनाइरहेको छैनौ ।"

रेमिट्न्समा पनि धेरै निर्भर हुन नहुने उनले बताए । "बाहिर पठाएर रेमिटेन्स जति पाइरहेका छौ त्यो सधै सस्टेन्स हुँदैन १०/११ अर्ब आउला तर त्यसले पुग्दैन ।" उनले भने "लामो समयमा यसले धान्दैन ।"

देशको पैसा बाहिर जाँदा त्यसको असर अर्थतन्त्रमा देखिएको बताउँदै उनले आयात घटाउने उपायहरु खोज्नुपर्ने बताए ।