एनएमबि बैंकको साढे ३ अर्बको उर्जा ऋणपत्र बिक्रीमा

एनएमबि बैंकको साढे ३ अर्बको उर्जा ऋणपत्र बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले वैशाख २१ गतेदेखि साढे तीन अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ तथा ढिलोमा जेठ ४ गते हुनेछ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।