उल्लेख्य खराब कर्जा उठाउन सफल हुँदा महिला लघुवित्तको नाफा ५५.७% ले बढ्यो

उल्लेख्य खराब कर्जा उठाउन सफल हुँदा महिला लघुवित्तको नाफा ५५.७% ले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.८५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.४५ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने ४८.१४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जसका कारण सञ्चालन मुनाफा घटेपनि खुद नाफा बढ्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा बढेर ९० रुपैयाँ ४२ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेको छ भने जगेडा कोष ३०.३६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २४.३३ प्रतिशत, निक्षेप ४३.८१ प्रतिशत र कर्जा ४३.८१ प्रतिशत बढेको छ ।