एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री


बागलुङ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका – १ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संंकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन्। साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जंगलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

लेकाली जंगलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरूलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रूपैयाँको निगुरो बिक्री गरिन्।

पुर्जाले भनिन् ‘वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एक जनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौँ ।’

पुर्जाले मात्रै यस वर्ष । आठ लाख ५० हजार रूपैयाँ र माया पुनले दुई लाख ५० हजार रूपैयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवाको जंगलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङ बजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० रूपैयाँ र खुद्रा प्रतिमुठा १०० रूपैयाँमा बिक्री हुने गरेको छ ।