झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौं भित्रिए


काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए ।

उनले आज दिउँसोदेखि काठमाडौंबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए । ‘आजदेखि काठमाडौं उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्’, उनले भने ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए ।

‘आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्धार भइसक्छ’, प्रवक्ता तिवारीले भने, ‘अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्धार गरिरहेको छ ।’

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । ‘अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ’, उनले भने, ‘अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।’

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । ‘रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ’ प्रवक्ता तिवारीले भने ,‘घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।’