शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर आज (सोमवार) देखि लिलामीमा विक्री गर्ने भएको छ । 

कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

यो शेयर खरीदका लागि वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनु पर्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाई कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।