बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने दोस्रो मुलुक बन्यो सेन्ट्रल अफ्रिकन रिपब्लिक

बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने दोस्रो मुलुक बन्यो सेन्ट्रल अफ्रिकन रिपब्लिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राका रूपमा मान्यता दिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बुधबार त्यहाँका राष्ट्रपतिले बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने विधेयकमा हस्ताक्षर गरेका छन् । अघिल्लो साता सेन्ट्रल अफ्रिकन रिपब्लिकको संसदले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको थियो ।

'सेन्ट्रल अफ्रिकन रिपब्लिकका नागरिकको अवस्थामा सुधार हुनेछ भनेर राष्ट्रपतिले यो विधेयकलाई समर्थन गर्नुभएको छ, राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन् ।

४८ लाख बढी जनसंख्या भएको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुन र हिराका धेरै खानीहरू छन् । तर यो मुलुक संसारका सबैभन्दा गरिब र अल्पविकसित मुलुकमा पर्छ । बिटक्वाइनलाई कानुनी मान्यता दिएपछि मुलुकमा नयाँ अवसरको ढोका खुल्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।

यसअघि गत वर्ष एल साल्भाडोर क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिने संसारकै पहिलो मुलुक बनेको थियो ।