ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कुमार कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कुमार कटुवाल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । 

कम्पनीको वैशाख १३ गते (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले वैशाख १४ गतेदेखि लागू हुने गरी कटुवालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कटुवालको कार्यकाल आगामी चार वर्षको हुने जानकारी समेत कम्पनीले दिएको छ । 

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवालले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले प्रमुख कार्यकारी अधिकृतको पद तथा गोपनियताको सपथ गराएका हुन् । 

नेपाल सरकारको समेत स्वामित्व रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गका जनताको आय आर्जन वृद्धि, स्व–रोजगार सिर्जना र गरीबी न्यूनीकरणका लागि लघुवित्त क्षेत्रमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकतालाई अर्थमन्त्री शर्माले औल्याएका छन् । 

यसअघि कटुवाल यसै कम्पनीमा १ वर्ष ९ महीना कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करीब २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ ।