साधना लघुवित्तको नाफा साढे २१% बढ्यो, ईपीएस कति?

साधना लघुवित्तको नाफा साढे २१% बढ्यो, ईपीएस कति?


बैंकिङ्ग समाचार, काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५८ हजार रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१.६१ प्रतिशत बढेर ९ करोड २२ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३९.२७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ३५.०३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ६२.३५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ४२.२५ प्रतिशत, निक्षेप ६३.२३ प्रतिशत र कर्जा ७५.९६ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २७ पैसा रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ७ पैसा कम हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको यस्तो आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।