बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले नन ट्यारिफ बीमा व्यवसाय सम्बन्धी निर्देशिका स्थगित गरेको छ । बीमा समितिले आज नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) लगायतसँग छलफल गरेर निर्देशिका स्थगत गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) को आन्दोलन तत्कालको स्थगित भएको छ । दुई संस्थाले बीमा समितिले असोज ६ गतेदेखि लागु हुने गरि जारी गरेको 'मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिसेनेस निर्देशिका' मा संशोधन माग गर्दै आन्दोलन थालेका थिए ।
बीमा समितिले आज आयोजना गरेको छलफलमा उक्त निर्देशिका अध्ययन गरि प्रतिवेदन पेश गर्न उपसमिति गठन गर्ने र तत्काललाई निर्देशिका लागु नगर्ने सहमति जुटेपछि व्यवसायीको आन्दोलन तत्काललाई स्थगित भएको हो ।
छलफलमा निर्देशिकाबारे अध्ययन गरि ७ दिन भित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । त्यस्तै हाललाई निर्देशिका लागु नगर्ने र व्ययवसायीले आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।
निर्देशिका अध्ययन गर्नको लागि बीमा समितिका कार्यकारी निर्देशिक राजुरमण पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिमा इप्पान र एफक्यानका २-२ जना प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघबाट १ जना, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघबाट १ जना, सार्वजनिक खरिद कार्यालयबाट १ जना, सर्भेयर एसोसिएसनबाट १ जना, नेपाल बिमक संघबाट २ जना प्रतिनिधि र पुनर्बिमकको तर्फबाट १ जना प्रतिनिधि रहने छन् । त्यस्तै बीमा समितिको प्रतिनिधि उपसमितिको सदस्य सचिवको रुपमा रहने छन् । यी बाहेक उपसमितिमा शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १-१ जना प्रतिनिधि रहने छन् ।
प्रतिक्रिया