बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ५६ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ३३ लाख नाफा कमाएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ८ प्रतिशत र सञ्चालन नाफा २१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ५५ करोड ७४ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ६९ लाख सञ्चित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५३ रहेकोमा चालू आवमा बढेर रू. १० दशमलव ३६ पुगेको छ । चालू आवमा कम्पनीले रू. ४ अर्ब ४० करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब ४८ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया