नेपाल फाईनान्सको नाफा ८१६% ले वृद्धि, ईपिएस कति पुग्यो ?

नेपाल फाईनान्सको नाफा ८१६% ले वृद्धि, ईपिएस कति पुग्यो ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आ.व.को तेस्रो त्रैमाससम्म (चैत मसान्तसम्म) मा रू. ३ करोड २० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९ गुणा अर्थात् ८१६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३५ लाख खुद नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३१६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड १७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४ करोड ८८ लाख पुगेको हो । त्यसैगरी गत आवमा सञ्चालन नाफा रू. ४४ लाख ९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू.३ करोड ३९ लाख धनात्मक भएको छ ।

चुक्तापूँजी रू.४९ करोड ३४ लाख रहेको उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४८ करोड ११ लाख र शेयर प्रिमियममा रू. २ करोड १९ लाख सञ्चित गरेको छ ।

चालू आवमा कम्पनीको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ११ रहेकोमा चालू आवको उक्त अवधिमा बढेर रू. ८ दशलमव ६६ पुगेको छ ।

त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४५ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६० दशमलव ८३,तरलता अनुपात ५५ दशमलव ३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ५१ रहेको छ ।