उन्नति सहकार्य लघुवित्तको ३०% बोनस शेयर वितरण सुरु

उन्नति सहकार्य लघुवित्तको ३०% बोनस शेयर वितरण सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । 

कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वैशाख ११ गतेदेखि वितरण गर्न शुरु गरेको हो ।

कम्पनीले उक्त बोनस शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । 

हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले रू. १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो । 
यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ । 

कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।