आरम्भ चौतारी लघुवित्तको निष्क्रिय कर्जा बढेपछि तेस्रो त्रैमाससम्मको नाफा ३७% ले घट्यो

आरम्भ चौतारी लघुवित्तको निष्क्रिय कर्जा बढेपछि तेस्रो त्रैमाससम्मको नाफा ३७% ले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ८३ हजार रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७.१९ प्रतिशत घटेर ४ करोड ९२ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण सम्भावित जोखिमबापत रकम बढ्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २८.२२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ४२.०७ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८.०३ प्रतिशत बढेको छ भने जगेडा कोष ५.०९ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ४५.५३ प्रतिशत, निक्षेप ३९.९९ प्रतिशत र कर्जा ३९.९९ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ५५ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ५५ गुणा रहेको छ ।