बैंकिङ्ग समाचार, काठमाडौं ।
राजस्व अनुसन्धान विभागले चार फर्ममा संलग्न पाँचजना व्यवसायीविरुद्ध १८ करोडभन्दा बढी कर छली गरेको आरोपमा ३६ करोड ११ लाख ३७ हजार रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
विभागले मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल, दिपेन्द्र कुमार अग्रवाल विरुद्ध राजस्व छली गरेको अभियोगमा बैशाख ११ गते आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
आरोपित शुभलक्ष्मी इन्टरनेसनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंक, एबची ट्रेड एन्ड सप्लायर्स र एमके इन्टरनसेनल समेतका मुख्य कारोबार रहेका बाफल निवासी मनिषकुमार अग्रवाल, एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार एवम् गणपति ट्रेड लिंकका सञ्चालक बाफल निवासी हितेषकुमार अग्रवाल, एमके इन्टरनेसनलका प्रोपाइटर बाफल निवासी प्रमित महर्जन, एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार बिमल अग्रवाल एवम गणपति ट्रेड लिंकका प्रोपाइटर बाफल नै निवासी दिपेन्द्रकुमार अग्रवाल रहेका छन् ।
शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।
ती फर्महरुमा संलग्नहरुले मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४४ लाख ९३ हजार ३५३, आयकरतर्फ १२ करोड ६० लाख ७५ हजार गरी जम्मा हुन आउने कुल बिगो १८ करोड ५ लाख ६८ हजार ६४३ बिगो कायम गरी उक्त विगोको शतप्रतिशत जरिवानाको माग दाबी गरिएको छ ।
राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएको भन्दै विभागले कायम भएको विगो र सजायको मागदाबी सहित आइतबार मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया