एनआईसी एशिया लघुवित्तको नाफा १२ % ले बढ्यो

एनआईसी एशिया लघुवित्तको नाफा १२ % ले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४७ करोड ८४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४२ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ९९ प्रतिशत बढी भएको हो ।

कम्पनीको सञ्चालन नाफा भने गत वर्षभन्दा २१ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । गत वर्ष यस अवधिसम्म रू. ६२ करोड ४० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड ९२ लाखभन्दा बढी यो नाफा गरेको  हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजार छ । जगेडा कोष रकम गत वर्षको भन्दा ६४ दशमलव ९३ प्रतिशत बढी रू. १ अर्ब ३१ करोड १६ लाख कायम भएको छ ।
कम्पनीले यस वर्ष २० दशमलव ६८ प्रतिशत बढी अर्थात् रू. ३ अर्ब ३३ करोड निक्षेप संकलन गरेको छ भने ४४ दशमलव ७८ प्रतिशत बढी रू. २२ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले २७ प्रतिशत बढी रू. १७ अर्ब ३९ करोड कर्जा सापटी लिएको छ ।

निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ५० प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ४६ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ९१ र प्रतिशेयर नेटवर्थ रू. १७५ दशमलव ४१ छ । यस अवधिसम्म कम्पनीले २३ दशमलव १४ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।