रामेछापमा पहिलो पटक जुनार बीमा

रामेछापमा पहिलो पटक जुनार बीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्समार्फत रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत बैशाख ८ गते रामेछाप नगरपालिका वडा नम्बर ६ पुरानागाउँका ३ जना जुनार कृषकहरुले लगाएको जुनारको बोट गणना गरी बीमा गरिएको हो ।

जस अनुसार शेर बहादुर तमाङले लगाएका २३५ बोट, हेम बहादुर तमाङले लगाएका २५० बोट र पृथे तमाङले लगाएका १३० बोट जुनारको बीमालेख किसानको बगैंचमा नै गएर आईएमई जनरल इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख विपिन भट्टराईले हस्तान्तरण गरेका हुन् ।

बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी छर्ने व्यवस्था भएको बताए ।

बिमा मार्फत आगलागी, चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक वाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमइ जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए । उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही बास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए ।