बिन्ध्यबासिनी हाइड्रोपावरको स्थानिय वासिन्दाहरुका लागि आईपीओमा आजदेखि आवेदन खुला

बिन्ध्यबासिनी हाइड्रोपावरको स्थानिय वासिन्दाहरुका लागि आईपीओमा आजदेखि आवेदन खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ । आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।