तेस्रो त्रैमाससम्ममा कालिका लघुवित्तको नाफा ८६.१३% बढ्यो

तेस्रो त्रैमाससम्ममा कालिका लघुवित्तको नाफा ८६.१३% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ८६ दशमलव १३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ६ करोड ९७ हजार रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. ११ करोड १८ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ८ करोड ३५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रूपैयाँ रहेको थियो । 

९ महिनाको अवधिमा कम्पनीको जगेडा कोषमा १९ दशमलव २ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा १७ करोड ७७ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा २१ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ दशमलव ९७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८ दशमलव १० प्रतिशत बढेको छ । कम्पनीको खराब कर्जा शून्य दशमलव ४५ प्रतिशतले घटेर ३ दशमलव ७२ प्रतिशत कायम भएको छ । 

वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ४७ दशमलव ६७ प्रतिशत, मूल्य आम्दानी अनुपात २७ दशमलव ४८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७३ पैसा छ । 

हाल कम्पनीको चुक्तापूँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी २४ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी २५ करोड २३ लाख रुपैयाँ थियो ।