उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख २६ हजारको हात खाली

उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख २६ हजारको हात खाली


बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट भएको हो ।  

आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान बाँडफाँट भएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन् । बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ ।