खुद ब्याज आम्दानी बढेपनि आईसीएफसी फाइनान्सको खुद नाफा ३०% घट्यो

खुद ब्याज आम्दानी बढेपनि आईसीएफसी फाइनान्सको खुद नाफा ३०% घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आईसीएफसी फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३० दशमलव ३२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १७ करोड ७९ लाख खुद नाफा कमाएकोमा चालू आवमा घटेर रू. १२ करोड ३९ लाखमा झरेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३२ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । सो अवधिमा कम्पनीको खुद व्याज आम्दानी भने ३७ दशमलव ९८ प्रतिशत बढेको छ ।

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड ९३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३१ करोड ६५ लाख पुगेको हो ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५० करोड २५ लाख र रिटेण्ड अर्निङमा रू. ४ करोड ४१ लाख सञ्चित गरेको हो ।

चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव १६ रहेकोमा चालू आवमा रू.१४ दशमलव ६७ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ४१ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५ दशमलव ९३ गुणा, तरलता अनुपात २४ दशलमव शून्य ९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४८ दशमलव ५० रहेको छ ।