सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल रूपान्तरण बैंकको उच्च प्राथमिकता

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल रूपान्तरण बैंकको उच्च प्राथमिकता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । २०६४ साल बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आजबाट १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो ।   

१५औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले बैंकले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको बताए । उनले भने, ‘म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हाम्रा मुल्य मान्यताहरुलाई पछ्याउन अनुमति दिन्छ । हामी हाम्रा आदरणीय ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौं, यसैले हामी हाम्रा मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं ।’

बैंकले बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । त्यस्तै, बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ ।   

१५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार गा्रहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ १ खर्व  ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ । यसै अवधिमा करिव १ अर्व ५८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

यसै त्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताएका छन् । ‘बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ । यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिनेछ । साथसाथै बैंक भित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ’ उनले भने ।