सिभिल लघुवित्तको अधिकांश सूचकमा सुधार तर ईपिएस भने घट्यो

सिभिल लघुवित्तको अधिकांश सूचकमा सुधार तर ईपिएस भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ८१ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९.६२ प्रतिशत बढेर ५ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.०७ प्रतिशत र सञ्चालन मुनाफा १५.३८ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९९ लाख रुपैयाँ छुट्याएको छ ।

खुद नाफा बढेपनि समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ २ पैसा घटेर २४ रुपैयाँ ४४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २३.१६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.२४ प्रतिशत बढेको छ । लघुवित्तको सापटी १०१.३४ प्रतिशत, निक्षेप ६२.०८ प्रतिशत र कर्जा ८०.४५ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.९८ गुणा रहेको छ ।