सेञ्चुरी कमर्सियल बैंकको नाफामा छलाङ्ग, निष्कृय कर्जा घट्दा नाफा १ अर्ब नाघ्यो

सेञ्चुरी कमर्सियल बैंकको नाफामा छलाङ्ग, निष्कृय कर्जा घट्दा नाफा १ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार साे अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब नाघेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेको छ भने जगेडा कोष २३.०१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.१८ प्रतिशत घटेको छ भने कर्जा ११.६६ प्रतिशत बढेको छ ।