निलम्बन रोक्न सर्वोच्चको सरकारलाई आदेश आएपछि नियमित काममा फर्किए गर्भनर

निलम्बन रोक्न सर्वोच्चको सरकारलाई आदेश आएपछि नियमित काममा फर्किए गर्भनर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने ।

उनले आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहोर्‍याए ।

राष्ट्र बैंकमा हाजिर हुन पुगेका अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरुले अधिकारीको निलम्बनप्रति विरोध जनाएका थिए ।

सर्वोच्चको आदेशपछि गभर्नर अधिकारीले केन्द्रीय बैंकले न्याय पाएको प्रतिक्रिया दिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गरेका थिए ।