तेस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा करिब १७% ले घट्यो

तेस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा करिब १७% ले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ९१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आवको चैत मसान्तसम्ममा  बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६ दशमलव २२ प्रतिशत घटेको छ । गत वर्षको तुलनामा यस वर्ष इम्पेरमेन्ट चार्ज कम रिभर्स भएका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव १२ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८ दशमलव ९४ प्रतिशत बढेको छ ।