एनसीसी बैंकको खुद नाफा बढेसँगै बढ्यो ईपीएस

एनसीसी बैंकको खुद नाफा बढेसँगै बढ्यो ईपीएस


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.२६ प्रतिशत बढेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ८१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष १०.६५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १७.८१ प्रतिशत बढेको छ भने कर्जा २३.५८ प्रतिशत बढेको छ ।