लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घट्यो

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ६३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३० दशमलव १५ प्रतिशत घटेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५ दशमलव ५२ गुणा रहेको छ ।