खुद ब्याज आम्दानी बढेपनि खर्च बढ्दा कुमारी बैंकको नाफा घट्यो

खुद ब्याज आम्दानी बढेपनि खर्च बढ्दा कुमारी बैंकको नाफा घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफा सामान्य घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च लगायतका खर्चहरु बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेको छ ।

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटेर ०.९६ प्रतिशतमा झरेको छ । यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यसका साथै बैंकको कर्मचारी खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ भने अन्य सञ्चालन खर्च ६६ करोड रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३ पैसा घटेर १६ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५८ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १३.४२ प्रतिशत बढेको छ भने कर्जा १३.०८ प्रतिशत बढेको छ ।