तेस्रो त्रैमासमा निफ्राको नाफा बढ्यो, ईपीएस भने सामान्य घट्यो

तेस्रो त्रैमासमा निफ्राको नाफा बढ्यो, ईपीएस भने सामान्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.७३ प्रतिशत बढेको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७३ पैसा घटेर ४ रुपैयाँ २९ पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७३.७ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ३४.७४ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप तथा सापटी २९.३२ प्रतिशत बढेको छ भने कर्जा ६३.२७ प्रतिशत बढेको छ ।