बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुने छ । अर्थमन्त्रालयले गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेको भन्दै निलम्बन गरेको थियो ।
सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन् । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
अधिकारीको पक्षमा राधेश्याम अधिकारी, सतिशकृष्ण खरेल, टीकाराम भट्टराई, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्तलगायत अधिवक्ताहरूले बहस गर्दैछन् ।
प्रतिक्रिया