महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, ७६.९७% बढ्यो नाफा

महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, ७६.९७% बढ्यो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ कायम गरेको छ । खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७६ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४० करोड ३६ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७१ करोड ४२ लाख पुगेको हो ।

बैंकले समीक्षा अवधिमा कर्जा लगानी साढे २६ प्रतिशतले बढाउँदै ३८ अर्ब ८ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी करिब १६ प्रतिशत तथा अन्य सञ्चालन आम्दानी ११० प्रतिशतले बढेको छ । गत आवको तुलनामा इम्पेरिमेन्ट चार्ज ९९ प्रतिशतले घटेपछि बैंकको खुद नाफामा आकर्षक सुधार आएको हो ।

चुक्ता पूँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७५ करोड ९६ लाख ११ हजार रुपैयाँ र सेयरधनी कोषमा ४८ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ४१ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले खुद ब्याज आम्दानी १५.६४ प्रतिशतले बढाएर १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा ८०.२५ प्रतिशतले बढेर १ अर्ब ९८ लाख रुपैयाँ रहेको छ ।

बैंकको अघिल्लो आवमा इम्पेरिमेन्ट चार्ज २७ करोड ३२ लाख ४८ हजार रुपैयाँ रहेकोमा ९९.४२ प्रतिशत घटेर १५ लाख ७९ हजार रुपैयाँमा झरेको छ ।

वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात २.८९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५६.०४ रुपैयाँ, कस्ट अफ फण्ड ८.२० प्रतिशत, आधार दर १०.२५ प्रतिशत, कर्जा निक्षेप अनुपात ८९.९८ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.२७ प्रतिशत र स्प्रेडदर ४.११ प्रतिशत रहेको छ ।