आईपीओ निष्कासनमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा १०९% बढ्यो

आईपीओ निष्कासनमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा १०९% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०९ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. ४ करोड ७७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा वृद्धि भएर रू. ९ करोड ९९ लाख पुगेको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू.७ करोड १३ लाख खराब कर्जा उठाउन कम्पनी व्वस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.८ करोड २१ लाख रहेको छ ।

कम्पनीले हाल आईपीओ निष्कासन गरिरहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि पूँजी रू.१२ करोड १६ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३० करोड ४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४६ करोड सापटि लिएर, रू. १ अर्ब २६ करोड निक्षेप संकलन गरेर, रू. ३ अर्ब ३७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको छ । उक्त आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।