चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७% मा सीमित हुन्छ: विश्व बैंक

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७% मा सीमित हुन्छ: विश्व बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । रसिया र युक्रेनबिच करिब डेढ महिना देखि जारी युद्धका कारण नेपालको आर्थिक वृद्धि थप प्रभावित हुने विश्व बैंकले जनाएको हो ।

विश्व बैंकले गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । बुधबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट रिपोर्टका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धि जनवरीमा गरिएको प्रक्षेपण भन्दा पनि थोरै हुने देखिएको हो । तर, सरकारले भने चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरकारले राखेको लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने भन्दै ३.९ प्रतिशतको वृद्धि प्रक्षेपण गरेकोमा रसिया र युक्रेन युद्धका कारण त्यो पनि घट्ने विश्व बैंकको अनुमान छ । बैंकले नेपालको मूल्य वृद्धि पनि ६ प्रतिशतको वरिपरी नै रहने अनुमान गरेको छ ।

विश्वका अधिकांश राष्ट्रहरुमा कोभिड–१९ का कारण आर्थिक गतिविधिमा आएको अबरोधका कारण मुद्रास्फिति उच्च हुनु, उच्च सार्वजनिक ऋण, विप्रेषणमा आएको कमि तथा चालु खाता घाटाका कारण र आयमा असमानता बढेकाले आर्थिक वृद्धिमा सुस्तता आउने विश्व बैंकले जनाएको छ ।

त्यसैगरी विश्व बैंकले नेपाल आर्थिक वृद्धिमा कमी आउनुको कारणमा वैदेशिक विनिमय सञ्चितिमा आएको गिरावटलाई पनि आधार मानेको छ । पछिल्लो समयमा विदेशी विनिमय सञ्चितिमा आएको गिरावटलाई नियन्त्रण गर्न अनौपचारिक रुपमा आयातलाई समेत नियन्त्रण गरिएको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले यसले पनि आर्थिक वृद्धि घटाउन मद्दत गर्ने निश्चित छ ।

विश्व बैंकले साउथ एसियाको आर्थिक वृद्धि पनि एक प्रतिशतको विन्दुले कमी आउने प्रक्षेपण गरेको छ ।

यसभन्दा अघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.६ र २०२३ मा ६.३ प्रतिशतको प्रक्षेपण गरेको थियो ।