सूर्या लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

सूर्या लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ दशमलव ७० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले गत पुस १९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । कम्पनीले फागुन १८ गते १२ दशमलव ७० प्रतिशत बोनश शेयर बापतको २८ लाख ७३ हजार ७६ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।

पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनश शेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनस जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।

यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ ।