बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ ।
धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्गका अनुसार लगानीकर्ताले ऋणपत्रमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि जारी भएको ऋणपत्रमा यसअघि छिटोमा चैत २१ गते बैंकिङ समयपछि ऋणपत्र निष्काशन बन्द हुने मिति रहेकोमा सो अवधिमा प्रयाप्त आवेदन नपरेपछि ढिलो समय चैत ३० गतेसम्म समय लम्बिएको थियो ।
बैंकले चैत १६ गतेबाट ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ । जसमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइमा सर्वसाधारणमा बिक्री खुलाइएको थियो ।
लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ इकाइ देखि अधिकतममा ५ लाख इकाइसम्म माग गर्न सक्नेछन् । मेरो सेयर मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिन्छ ।
ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा पाउनेछन् ।



About Us
प्रतिक्रिया