२४०० को बिन्दु मुनी नेप्से, आज ३४.७८ अंकले घट्यो

२४०० को बिन्दु मुनी नेप्से, आज ३४.७८ अंकले घट्यो


नेप्से परिसुचक आज २४०० बिन्दु भन्दा तल झरेको छ । पछिल्लो हप्ता ४ कारोबार दिन लगातार घटेको नेप्से अन्तिम दिन बिहिबार भने बढेको थियो । तर यो हप्ता कारोबार भएको दुई दिन सोमबार र आज मंगलबार फेरि नेप्से घटेको छ । त्यहि क्रममा आज नेप्से परिसुचक २४०० बिन्दु मुनि पुगेर २ हजार ३ सय ८५ दशमलब ०२ अंकमा बन्द भएको छ । सोमबार नेप्से ४४.६४ अंकले घटेर २ हजार ४ सय १९ दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।    

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।