समृद्धि फाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

समृद्धि फाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (मंगलवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । 

कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । 

यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । 

बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।