बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । २०७८ साल चैत्र २८ गते काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको थियो ।
बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टयाउने घोषणा गरे ।
यसैगरी बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
यसै गरी युआरएस (URS) नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरियो । कामना सेवा विकास बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । यसले कामना सेवा विकास बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।
साथै बैंकले “हामी सक्षम छौँ” भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका थिए ।
उक्त कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, कामु नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत सञ्चारकर्मी तथा अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । यस अवसरमा बैंकका अध्यक्ष सुदिप आचार्यले मिडिया क्षेत्रका चर्चित व्यक्तित्व रवि लामिछानेलाई बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा गर्व महसुस गरेको तथा यसले बैंकको व्यावसाय तथा साख वृद्धिमा कोषेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरे ।



About Us
प्रतिक्रिया