रिभर फल्स पावरको आईपीओ आयोजना प्रभावित क्षेत्रका वासिन्दाले आजदेखि आवेदन दिन सक्ने

रिभर फल्स पावरको आईपीओ आयोजना प्रभावित क्षेत्रका वासिन्दाले आजदेखि आवेदन दिन सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिभर फल्स पावर लिमिटेडले आज (चैत २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा २०७९ बैशाख ११ गते हुनेछ भने ढिलोमा बैशाख २६ गते हुनेछ । आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।