राहत कोषमा जुट्न थाल्यो रकम


झापा – विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले एक करोड रुपैयाँको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा एक लाख ११ हजार एक सय ११ रूपैयाँ दाखिला गरेकाे सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।

हालसम्म आठ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले जानकारी दिए ।

‘कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ’, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, ‘पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा एक करोड रूपैयाँ सहजै जुट्नेछ ।’