आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको भन्दै गभर्नर निलम्बित

आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको भन्दै गभर्नर निलम्बित


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार उनी निलम्बित भएका हुन् ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे ।

मन्त्रिपरिषद्को शुक्रबार आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले पदबाट निलम्बन गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।

आर्थिक संकट गहिरिँदै गइरहेको अवस्थामा सरकारले केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको हो । आज बिहान राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका थिए । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएको भन्दै सार्वजनिक रुपमा नै अभिब्यक्ति दिएका थिए ।

अधिकारी अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नरको रुपमा विसं २०७६ चैत्र २४ गते नियुक्त भएका थिए । अधिकारीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । अन्य सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका छन् । समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।