अपि पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

अपि पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ ।

यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।