नेपाल टेलिकमको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

नेपाल टेलिकमको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले आज (शुक्रवार) देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाद्वारा पारित प्रतिशेयर रू. २० का दरले नगद लाभांश हितग्राही खातासँग बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले भनेको छ । 

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातासँग आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार नै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले व्यहोर्नु पर्ने समेत कम्पनीले बताएको छ ।